मेरो परिवारमा म, दिदी र ममी छौं, बुबा भने हाम्रो साथमा हुनुहुन्न ।
मेरो ममीले कमजोर आर्थिक अवस्थाको कारण दिदीलाई गाउँमा काका-काकीको साथमा पठाउनुभएको थियो ।
गाउँको कठिन काम र एकलोपनाको कारण मेरो दिदीलाई गाह्रो थियो,
तर सहरमा कामको बोझ र अभावले गर्दा ममीले दिदीलाई फोन पनि कहिलेकहीँ मात्रै गर्नुहुन्थ्यो ।
बुबाको प्रेम पहिल्यै गुमाउनुभएको दिदीले परिवारको पनि प्रेम कम मात्रामा पाउनुभएको थियो । एकदिन मैले दिदीलाई सान्त्वना दिने निर्णय गरें । त्यसैले मैले दिदीलाई फोन गरेर आमाको प्रेमको भाषा बोलें ।
“दिदी, माफ गर्नुस्, पक्कै गाह्रो भयो होला” भन्दै मैले माफी मागें ।
मेरो दिदी सुरुमा झर्किएर बोलिरहनुभएको थियो, तर मैले त्यसो भनेंपछि दिदी केही समयको लागि स्तब्ध हुनुभयो । मैले फेरि “माफ गर्नुस् दिदी, पक्कै गाह्रो भयो होला” भन्दै मोबाइलमा टेक्स्ट मेसेज पठाएँ ।
तब दिदीले मलाई कल गर्नुभएर आफ्नो सबै भावना प्रकट गर्नुभयो ।
झर्किँदै बोल्ने मेरो दिदी नरम आवाजमा बोल्नुभयो ।
आमाको प्रेमको भाषाले मेरो दिदीको मनको घाउमा मलमको रूपमा काम गऱ्यो र
टाढिन लागेको परिवारको सम्बन्ध अझ मजबुतसँग गाँसियो ।