नेपालमा वैशाख ४ गते आमाको मुख हेर्ने दिन, आमालाई सम्झना गर्ने दिन परेको थियो ।
नेपालमा बुबा-आमालाई माया व्यक्त गर्न सजिलो छैन जस्तो लाग्छ । माया मनमा हुन्छ, तर व्यक्त गर्न गाह्रो हुन्छ । आमालाई “धन्यवाद”, “माया गर्छु”, “माफ गर्नुहोस्” भन्ने शब्द मैले कहिल्यै भनेको थिएनँ । भन्न चाहें पनि सधैँ मेरो मनमा मात्र सीमित थियो ।
तर आमाको सम्झना गर्ने दिनमा मैले साहस बटुलेर आमालाई फोन गरें । आमाको हालखबर सोधें अनि आमाको प्रेमको भाषा याद गर्दै यसो भनें ।
“आमा, म हजूरलाई माया गर्छु । मलाई जन्माउनुभएकोमा धन्यवाद । मलाई माया गर्नुभएकोमा धन्यवाद । अनि हजूरलाई जानी नजानी मन दुखाएकोमा माफ गर्नुहोस् ।”
आमाले “ठिक छ, धन्यवाद” भन्दै छोटो उत्तर दिनुभयो । दुई शब्द मात्र बोल्नुभए पनि त्यसभित्र समाहित न्यानो मन र खुसी मैले महसुस गर्न सकें ।
मैले आमासँग ‘आमाको प्रेमको भाषा’ बोलें । बोलीद्वारा प्रेम व्यक्त गर्दा मनमा खुसी उत्पन्न हुन्छ भन्ने कुरा मैले महसुस गरें ।
म आज साँच्चै खुशी छु ।❤️❤️🤗🤗